कावासोति । १८४ औं विश्व फोटोग्राफी दिवस–२०२३ पूर्वी नवलपरासीमा प्रभातफेरि कार्यक्रम गरी मनाईएको छ । सन १८३९ अगष्ट १९ मा तत्कालिन फ्रान्सेली सरकारले फोटोग्राफी विधालाई पहिलो पटक मान्यता दिएको ऐतिहासिक दिनको सम्झनामा विश्व फोटोग्राफी दिवस मनाउन थालीएको हो । नेपाल फोटो पत्रकार महासंघ नवलपुर र नवलपुर फोटोग्राफर संघको संयुक्त आयोजनामा प्रभातफेरि गरिएको हो । प्रभातफेरि कावासोती फलफुल चोक बाट शुरु भएर विपि चोक, थाना चोक हुदै पुन फलफुल चोकमा आएर कोणसभामा गरिएको थियो । सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले एउटा फोटोबाट एक हजार शब्दहरु झल्कने हुदा फोटोको महत्व बढेको बताउनुभयो । उनले भने “फोटोले त्यस क्षेत्रको बिकास समेत झल्किन्छ ।” हिजोका दिनमा नेगेटिभ बाट सुरु भएको फोटोग्राफी अहिले आएर डिजिटल मा परिवर्तन हुदा फोटोग्राफी सहज हुँदै गएको प्रमुख अतिथी पराजुलिले बताएका थिए ।
त्यसैगरि नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य घनश्याम बगालेले फोटोग्राफी विधाले मानव समाजलाई पुर्याएका योगदानलाई सम्झाउन पनि यो दिवस मनाउन आवश्यक रहेकाे बताएका थिए। वर्तमान विश्वमा मानव जीवनको विविध क्षेत्रमा फोटोग्राफीको बढ्दो प्रयोगले यसको महत्व बढाउदै गएको छ । नवलपुर फोटोग्राफर संघका अध्यक्ष दिपेन्द्र बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघ नवलपुरका अध्यक्ष नविन पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका सदस्य एवं संचारकर्मी सहित नवलपुर फोटोग्राफर संघमा आवद्ध सदस्यहरुको सहभागिताग रहेको थियो ।