गण्डकी प्रदेशमा एक महिनामै तेब्बर संक्रमित

पोखरा । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो एक महिना यताको तथ्यांक नियाल्ने हो भने कोरोना संक्रमण फेरि उकालो लागेको छ । निर्देशनालयका अनुसार पछिल्लो एक महिनामा संक्रमितको संख्या मात्रै उकालो लागेको छैन, मृत्युदर पनि बढेको छ ।

खोप केन्द्र अव्यवस्थित हुँदा त्यहींबाट संक्रमण फैलिएको मान्न सकिने लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल प्रमुख डा। विकास गौचन बताउँछन् ।

 

असार मसान्तदेखि शनिबारसम्म गण्डकीमामात्रै १ सय ७२ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ । पछिल्लो २४ घन्टामा १० जना संक्रमितले ज्यान गुमाएका छन्, जसमध्ये अधिकांश कास्कीका छन् ।

जति संक्रमितको संख्या थपिंदै गएका छन्, सोही अनुपातमा निको हुने दर भने कम छ । एक महिनाको अवधिमै सक्रिय संक्रमितको संख्या तीन गुणाले वृद्धि भएको निर्देशनालयले जनाएको छ । संक्रमितको संख्या बढेसँगै पोखराका अस्पतालहरु फेरि भरिन थालेका छन् भने पालो पर्खेर उपचार गर्नुपर्ने स्थिति आएको छ ।

संक्रामक तथा सरुवा रोग अस्पताल प्रमुख डा। विकास गौचन भन्छन्– सबैभन्दा बढी संक्रमण खोप केन्द्रबाटै बढेको देखिन्छ । पूरै अव्यवस्थित छ, त्यहींबाट फैलिएको मान्न सकिन्छ ।
कोभिड उपचारकै लागि तोकिएको लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल पनि भरिभराउ छ । ५० बेड क्षमताको उक्त अस्पतालमा अब थप संक्रमित राख्न सक्ने अवस्था नरहेको अस्पताल प्रमुख डा। विकास गौचन बताउँछन् । ‘अब आउने संक्रमितलाई फर्काएर पठाउनुको विकल्प छैन,’ उनले भने ।

पछिल्लो समय उपचारका लागि आएका अधिकांश संक्रमितहरुको अवस्था पनि गम्भीर प्रकृतिको रहेको डा। गौचन सुनाउँछन् । गम्भीर प्रकृतिका बिरामी बढेसँगै फेरि अक्सिजनको माग पनि बढेको उनको भनाइ छ । ‘अहिले ३५ जना संक्रमितको अवस्था क्रिटिकल नै छ । अक्सिजनको माग पनि बढेको बढ्यै छ,’ उनले भने, ‘यसरी नै बढिरह्यो भने अक्सिजन कसरी पुर्याउने भन्ने भएको छ ।’

ठीक एक महिनाअघि गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार ६२८ थियो । तर, शनिबारसम्म त्यो संख्या बढेर ६ हजार १०२ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार गण्डकीमा कोरोनाबाट सबैभन्दा कास्की, नवलपुर, स्याङ्जा, गोरखा र बागलुङ छन् । कास्कीमा मात्रै शनिबारसम्म २ हजार ५१ जना सत्रिय संक्रमित छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा शनिबारसम्म ७५ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६८ हजार निको भइसकेका छन् । ६ हजार संक्रमितमध्ये ४ हजार ८ सय बढी संक्रमित होम आइसोलेसनमै छन् ।

संक्रमणदर फेरि बढेसँगै जोखिम पनि बढेको भन्दै बागलुङ नगरपालिकाले फेरि लकडाउन गरेको छ । संक्रमण घटेको भन्दै निषेधाज्ञा केही खुकुलो गरे पनि २८ गतेदेखि पूर्ण लकडाउनमा गएको छ । जिल्लाका बैंक तथा वित्तीय संस्थाहरु पनि नखुल्ने गरी भदौ ५ गतेसम्मका लागि स्थानीय प्रशासनले निषेधाज्ञामा कडाइ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *