काङ्ग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

कांग्रेसबाट बागमती प्रदेशसभा सांसद नरोत्तम वैद्य लगायतले कोरोना भाइरस संक्रमणको महामारीका बेला महाधिवेशन गर्नु उपयुक्त नहुने तर्क गर्दै रोक्न मागदाबी गरेका छन् ।

उनले पेस गरेको रिट निवेदन दर्ता भएर पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
निवेदकले तत्कालै महाधिवेशन रोक्न अन्तरिम आदेश समेत माग गरेका छन् । सर्वोच्चले अन्तरिम आदेश दिएमा कांग्रेस महाधिवेशन तत्कालै रोकिने छ ।

कोरोना महामारी र क्रियाशील सदस्यता विवादका कारण पटक–पटक सर्दै आएको महाधिवेशनको मुखैमा सर्वोच्चमा मुद्दा परेपछि फेरि संकट देखिएको छ । भोलि शुक्रबार देशभर वडा अधिवेशन गर्ने कार्यतालिका तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *