सबैभन्दा बढी चढ्ने मोटरसाइकलमै कर बढ्यो

काठमाडौं । सरकारले मध्यमवर्गीय नेपालीहरूले सबैभन्दा बढी चढ्ने १२५ देखि २५० सिसीसम्मका मोटरसाइकलमा कर बढाइदिएको छ । अर्थमन्त्री जनार्दन शर्मा ९प्रभाकर० ले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलमा अन्तःशुल्क र सडक दस्तुर बढाउँदा सर्वसाधारणले सबैभन्दा बढी रुचाएका १५० देखि १६० सिसीका मोटरसाइकलको भाउ १५ देखि २० हजार रुपैयाँले बढ्नेछ ।

नेपालमा १५०–१५५ सिसीका मोटरसाइकल सबैभन्दा बढी बिक्री हुन्छन् । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७७र७८ मा १०० सिसीदेखि २५० सिसीसम्मका दुई लाख १३ हजार एक सय ४४ मोटरसाइकल आयात भएकोमा १२६–१५५ सिसीका मोटरसाइकल ८५ हजार आयात भएका थिए । यो ४० प्रतिशत हिस्सा हो । यसअघि यो सेग्मेन्टमा ४० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई १० प्रतिशतले बढाएर ५० प्रतिशत पुर्‍याइएको छ ।

त्यस्तै, सडक दस्तुर यसअघि १५ हजार रुपैयाँ लाग्दै आएकोमा त्यसलाई १८ हजार रुपैयाँ बनाइएको छ । त्यस्तै, १०० सिसीदेखि १२५ सिसीसम्मका ६० हजार आठ सय ८७ मोटरसाइकल आयात भएका छन्, जुन २९ प्रतिशत हुन आउँछ । १५६ सिसीदेखि २५० सिसीसम्मका मोटरसाइकल ६७ हजार दुई सय ४० थान आयात भएको देखिन्छ, जुन ३२ प्रतिशत हुन आउँछ । यो सेग्मेन्टमा पनि २०० देखि २५० सिसीसम्मका बाइकमा यसअघि ५० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई ६० प्रतिशत पुर्‍याइएको छ । यसरी नेपालमा खपत हुने दुईतिहाइभन्दा बढी मोटरसाइकलको भाउ बढाउने निर्णय सरकारले गरेको छ ।

अघिल्ला वर्षहरूमा आयात भएका मोटरसाइकलमा पनि १२६ सिसीदेखि १५५ सिसीको बाहुल्यता बढी देखिन्छ । आव ०७५र७६ मा १०० सिसीदेखि २५० सिसीसम्म आयात भएका एक लाख ७८ हजार पाँच सय ७३ मोटरसाइकलमध्ये १२६ सिसीदेखि १५५ सिसीसम्मका मोटरसाइकल ७७ हजार नौ सय २७ थान थिए, जुन ४४ प्रतिशत हिस्सा हुन आउँछ । १०० सिसीदेखि १२५ सिसीसम्मका ५८ हजार नौ सय ६५ थान र १५६ सिसीदेखि २५० सिसीसम्मका ४१ हजार ६ सय ८१ थान आयात भएका थिए । आव ०७६र७७ मा आयात भएका १०० सिसीदेखि २५५ सिसीसम्मका मोटरसाइकलमा पनि १२६ सिसीदेखि १५५ सिसीसम्मका मोटरसाइकलको हिस्सा बढी देखिन्छ ।

नेपालको सहरदेखि दूरदराजका गाउँहरूसम्म १५० सिसीका मोटरसाइकल सर्वसाधारणको सवारीका माध्यम बन्ने गरेका छन् । पछिल्लो समय पहाडी भेगमा सबैभन्दा मध्यमवर्गको भरपर्दो साधन भनेकै यही सेगमेन्टका मोटरसाइकल हुन् । त्यसैले पनि नेपाली ग्राहकमाझ १२५ देखि १५५ सिसीसम्मका मोटरसाइकल अत्यधिक लोकप्रिय छन् । सवारीसाधन सबैभन्दा बढी बिक्री हुने सिजन दसैँ–तिहारको मुखमा अन्तःशुल्क र सडक दस्तुर बढेपछि मोटरसाइकल किन्ने प्रतीक्षामा रहेका उपभोक्ता महँगो मूल्य तिर्न बाध्य हुने भएका छन् ।

सरकारले सडक दस्तुर बढाउँदा पनि १२५ देखि १५५ सिसीसम्मका मोटरसाइकल तथा स्कुटरलाई टार्गेट गरिएको छ । यो सेगमेन्टमा प्रतिमोटरसाइकल तीन हजार रुपैयाँ सडक दस्तुर बढाएर १८ हजार बनाएको छ । यसअघि १५५ सिसीसम्मका मोटरसाइकल तथा स्कुटरमा १५ हजार रुपैयाँ सडक दस्तुर लाग्थ्यो । अर्थमन्त्री शर्माले ५० देखि १२५ सिसी, १५५ देखि २०० सिसी, २०० देखि २५० सिसी, २५० देखि ४०० सिसी र ४०० सिसीभन्दा माथिका मोटरसाइकलमा लाग्ने सडक दस्तुरमा कुनै परिवर्तन गरेका छैनन् । यसले पनि सबैभन्दा बढी बिक्री हुने मोटरसाइकलमा कर बढाउन चलखेल भएको हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि २०० सिसीदेखि २५० सिसीसम्मका मोटरसाइकलमा ५० प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा अहिले १० प्रतिशत बढाएर ६० प्रतिशत पुर्‍याइएको छ । यस्तै, ५०० सिसी नाघेका, तर ८०० सिसी ननाघेका मोटरसाइकलमा ८० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा नयाँ व्यवस्थाले १०० प्रतिशत पु¥याइदिएको छ । ८०० सिसीभन्दा माथिका मोटरसाइकलमा अन्तःशुल्क १०० प्रतिशत यथावत् राखिएको छ ।

आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले मोटरसाइकलसमेत विद्युतीय होऊन् भन्ने अभिप्रायले मोटरसाइकलमा कर बढाएको दाबी गरे । तर, नेपालमा ब्याट्रीबाट चल्ने स्कुटर धेरथोर बिक्री भए पनि विद्युतीय मोटरसाइकल अझै प्रयोगमा आइसकेका छैनन् । नयाँ पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *