घण्टाै हिँडेर विद्यालय पुग्दा भाेक खपेर बस्छन् बुलिङटारका विद्यार्थी

मंसिर १०
बुलिङटार गाँउपालिका – ४ अर्खाला खवालाकी श्रेया पुलामी सेतिनाग मा.वि मा १० कक्षामा पढ्छिन् ।बिहान ७ बजे घरबाट नहिँडे उनी पहिलाे घण्टीमा विद्यालय पुग्न सक्दिनन् ।साँझ विद्यालय छुट्टी भएपछि घर पुग्दा झमक्कै हुन्छ ।दैनिक पाँच घण्टा बाटाेमा हिँडेर बित्ने भएकाले थकान उस्तै । ‘बिहान भात खाएर गयाे स्कुल पुग्दा फेरि भाेक लागिसक्छ ,’ श्रेयाले भनिन् ,’ थकाई र भाेकले पढाईमा ध्यान दिन पनि गार्हाे हुन्छ ।’
नवलपुरकाे पहाडी भेग बुलिङटारका धेरैजसाे विद्यार्थीहरु विद्यालय शिक्षाका लागि दैनिक पाँच घण्टा बढी हिँडेर जाने गरेका छन् । नजिकमा विद्यालय नहुनु र यातायातकाे राम्राे व्यवस्था नहुँदा विद्यार्थीहरुले शिक्षाका लागि कष्टकर यात्रा गर्नुपरेकाे हाे ।
नजिकमा माध्यमिक तहकाे पढाइ हुने विद्यालय छैन , अर्का विद्यार्थी संगम मगरले भने ,’या त हिँडेरै जाउ या पढाइ छाड अर्काे विकल्प छैन ।’ यहाँ बर्सेनि ३/४ जना विद्यार्थीले निमावि पूरा गरेपछि विद्यालय छाेड्ने गरेकाछन् ।श्रेयाकै बहिनीले पनि ६ कक्षा अध्ययन पछि विद्यालय छाेडेकाे उनले बताईन् ।उनलाई भने पढेर आफ्ना सपना पूरा गर्ने रहर रहेकाे उनी बताउँछिन् ।
बुलिङटार गाँउपालिका – ४ अर्खालाको खवाला, बोझापोखरी, पोखरी, सुनारथुम्कीलगायतका गाउँबाट दैनिक चार/पाँच घण्टा बढी पैदल हिँडेर विद्यालय जानेकाे लर्काे ठूलै छ ।
मा.वि. तहका विद्यार्थीका लागि आवासिय सुविधा भए केही राहत हुने उनीहरु बताउँछन् ।
यस भेगबाट दैनिक विद्यालय जाने विद्यार्थीकाे संख्या १० भन्दा बढी छ। सेतिनाग मा. विमा आसपासका गाँउबाट समेत आउने गरि ४७ जना विद्यार्थी कक्षा १० मा अध्ययन गरिरहेकाछन् । विद्यार्थीकाे दुख महसुस गरेपनि उनीहरुकाे सहज अध्ययनका लागि केही गर्न नसकिएकाे प्रधानाध्यापक खिम बहादुर सुस्लिङ्गले बताउनुभयो ।
विद्यार्थीहरु भिर, जङ्गल र खोलाको बाटो पैदल हिँडेर जङ्गली जनावरलाई छलेर स्कूल जानुपर्ने समस्या बारे काेही अनविज्ञ नरहेकाे पनि उहाँले बताउनुभयाे । सडक सुविधा राम्राे नहुँदा छिमेकी वडामै रहेका विद्यालय पनि सहजै पुग्ने अवस्था छैन। गोरखकाली माध्यमिक विद्यालय, वडामा नं ३ मा रहेको त्रीभुवन माध्यमिक विद्यालय र वडा नं ५ मा रहेको उदय माध्यमिक विद्यालय भन्दा केही कम हिँडेर पुग्ने भएपछि विद्यार्थीले सेतिनाग मावि राेजेका हुन् ।
गाउँमै विद्यालय भए विद्यार्थिलाई सहज होला भनेर निजी स्रोतमा मावि सञ्चालन गरेको भए पनि भौगोलिक कठिनाइका कारण विद्यार्थी मारमा परेको स्थानिय बताउँछन् ।
घर र विद्यालयको दुरी टाढा हुँदा आउजाउ मै समय खेर जाने र अध्ययनका लागि समय नपुग्ने विद्यार्थीहरुकाे गुनासाे छ ।जसकारण नतिजामा समेत असर पुग्ने गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *