वैशाखमा १४ भित्र स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको माग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै पटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरे ।

खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता हुने, समग्र निर्वाचन व्यवस्थापनमा सहजता हुने र मतदाता शिक्षा सामग्रीहरुमा एकरुपता हुनुका साथै एक ठाउँको निर्वाचन परिणामले अर्को ठाउँमा प्रभावित नपार्ने भएकाले एकैदिन र एकै चरणमा निर्वाचन गर्नु उपयुक्त हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

कुनै कारण एकै दिनमा निर्वाचन गर्न सम्भव नभए १४ र २२ वैशाखमा गर्न सकिने आयोगले बताएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका पदाधिकारीहरुको पदावधि ५ जेठमा समाप्त हुनेछ । संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएपनि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । साथै कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानूनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले दलहरुसँग छलफल गरेर आयोगको प्रस्ताव अघि बढाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *