अल्लोका सामाग्री बिक्न महोत्सव नै कुर्छन व्यापारी

पुस २७
मंगलबार । चितवन महोत्सव अवलोकन गर्न आएका गीतानगरका रामनाथ वाग्ले अल्लोबाट उत्पादित सामाग्री बिक्रीको स्टलमा भेटिए । टोपीका सौखिन रामनाथले आफुले लगाइरहेको ढाकाको टोपी खोले र अल्लोबाट बनेका दुई तिन वटा टोपी पहिरिए । विभिन्न रंगका टोपी लगाउँदै ऐना हेर्दै गरेपछि ती मध्य एउटा रोजे । पैसा तिरेर प्याक गरिसकेपछि उनको मन फेरिएछ उनले अर्को टोपी रोजे । “बुट्टे टोपी राम्रो देखिए झै लाग्यो र किनेको तर अलि अलि ऊन मिसिएको हुन्छ बुट्टेमा भन्नुभयो त्यसैले फेरी सादातिर मन मोडियो ,”वाग्लेले भने । रामनाथले अल्लोको टोपी किन्नकै लागी मंगलबार महोत्सव आएको बताए । सोमबार उनका जहान परिवार महोत्सव घुमिसकेका थिए । श्रीमतीले अल्लोबाट बनेका टोपी पनि रहेछन् भनेपछि उनी मंगलबार हानिएर महोत्सव पुगेको बताए ।“ हिजै श्रीमतीले लैजान पनि सक्थिन् तर मलाई अरुले छानेको रंग र साइजमा चित्त बुझ्दैन,” उनले भने ,“यहाँ आएपछि आफैले रोजेर लिन पाइयो नि ।”उनीसंग यस अघि पनि महोत्सवकै बेला किनेका अल्लोका दुइवटा टोपी रहेछन् । अल्लोका सामग्री मेला महोत्सवमा मात्र पाइने अनुभव रहेको उनले सुनाए । “यस अघि पनि महोत्सवमै किनेको थिएँ,अरुबेला बजारमा खोज्छु तर पाउँदिन, ”उनले भने ।भरतपुर ४ देखि आएका देवि प्रसाद शर्माले पनि अल्लोबाट बनेको टोपी किने । उनीसंगै आएका उनका परिवारले उनका लागि राम्रो देखिएको टोपी रोजिदिए ।

खाँदबारी, संखुवासभादेखि चितवन महोत्सवमा स्टल राख्न आइपुगेका नरेन्द्रकुमार राईले आफ्नो स्टलमा अल्लोका सामाग्री किन्न युवा तथा प्रौढ दुबैले चासो देखाएको बताए । स्टलमा टोपी,क्याप, महिलाहरुले भिर्ने ह्याण्डब्याग,पर्स तथा अल्लोबाट बनेको थान कपडा बिक्री लागि राखिएकाछन् । महोत्सवमा स्टल राख्दा प्रचार प्रसार हुने भएकाले टाढादेखि आएको उनले बताए । “मेला महोत्सवहरुमा सामान लिएर जान थालेको निकै वर्ष भयो ,”राईले भने ,“यसरी लैँजादा फरक ठाउँका मान्छेले पनि हाम्रो उत्पादनबारे थाहा पाउँछन् र सम्पर्क गरेर पछि पनि सामान मगाउँछन् । ” चितवन महोत्सवमा भने उनी पहिलो पटक आएको बताए ।
उनको स्टलमा केही किशोरीहरु आइपुगे । उनीहरुले ह्याण्डब्याग हेर्दै थिए । गैंडाकोटबाट आएकी सुस्मिता कंडेलले स्वदेशी सामान उपभोग गर्ने ट्रेण्ड युवामा बढेकाले आफुलाई मिल्ने केही पाइन्छ की भनेर हेरेको बताइन् ।

चितवन महोत्सवमा अल्लोबाट बनेका सामाग्रीका दुईवटा स्टल छन् । दाङबाट आएकी शर्मिला पुनले चितवन महोत्सवमा स्टल राख्न आएको यो चौथो पटक भएको बताइन् । अल्लोबाट बनेका सामाग्रीको प्रवद्र्धन मेलाबाटै भएको उनी बताउँछिन् । उनको स्टलमा अल्लोबाट बनेका कोट,ज्वारी कोट,,स्कूल ब्याग, महिलाले बोक्ने ह्याण्ड ब्याग,पर्स, कि—रिङ, ढाड दुख्दा बान्ने कम्मर बेल्ट जस्ता सामाग्री राखिएकाछन् ।

अघिल्ला महोत्सवमा सामान थोरै ल्याउँदा गुनासो रहने गरेकाले यस पटक धेरै ल्याएको उनले बताइन् ।“ हाम्रा सामाग्रीहरु धेरै बिक्ने भनेकै मेला महोत्सवहरुमा हो,”उनले भनिन्,“नियमित विक्रीको वातावरण बनाउन अझै प्रवद्र्धन गर्नुपर्छ ।” साना उद्यमहरुको प्रवद्र्धनका लागि सरकारले सहयोगि भूमिका खेल्नुपर्ने उनले बताइन् ।

पूर्वी नेपाल देखि पश्चिम नेपाल सम्मका व्यवसायी जुट्ने थलो बनेको चितवन महोत्सवको बुधबार समापन गरिँदै छ ।कोरोना महामारीको संक्रमण फैलन सक्ने भन्दै महोत्सव सुरु भएको चौथो दिनमै समापन गरिने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *