ज्ञानु पंगेनी
कावासोती । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले १० जना विपन्न परिवारलाई निशुल्क धारा वितरण गरेको छ ।
आइतबार कार्यालय परिसरमा एक औपचारिक कार्यक्रमकाबीच धारा वितरण गरिएको हो । संस्थाको सेवा क्षेत्र भित्र पर्ने अति विपन्न परिवारलाई निशुल्क धारा वितरण गरेको हो । कावासोती २ की मीनादेवी महतो र लोम कुमारी चापागाईं कावासोती ३ की माया श्रेष्ठ र गीता बिक कावासोती ५ का गणेश कुमाल , कावासोती ६ का भीम बहादुर बिक र जित बहादुर कुमाल , कावासोती ८ का नर बहादुर तामाङ र इन्द्र माया थापामगर र कावासोती ९ की चन्द्रकली सापकोटालाई धारा वितरण गरिएको हो ।
कावासोती खानेपानीको २१ औँ साधारणसभाबाट सेवा क्षेत्र भित्र रहेका विपन्न परिवारलाई निशुल्क धारा वितरण गर्ने निती पारित भए अनुसार चालु आर्थिक वर्षबाट वार्षिक रुपमा १० वटा धारा विपन्न परिवारलाई वितरण गर्ने कार्यको सुरुआत गरेको संस्थाका अध्यक्ष भिमलाल कँडेलले जानकारी दिनुभयो । यो कार्यक्रममा अबबाट प्रतेक वर्ष निरन्तर रुपमा गरिने उहाँले बताउनुभयो । धारा वितरण गर्दा कूल दुई लाख ३३ हजार २५० रुपैयाँ बराबरको अनुदान सहयोगमा धारा वितरण गरेको अध्यक्ष कँडेलले जानकारी दिनुभयो । खानेपानी भने जीवनमा चाहिने अत्यावश्यकीय पदार्थ हो , संस्थाले केही सामाजिक कार्य गर्नुपर्छ भन्ने उद्देश्य अनुरूप विपन्नलाई निशुल्क धारा वितरण गर्ने कार्य अघि सारेको र यसलाई निरन्तरता दिने बताउनुभयो । धारा वितरणका लागि संस्थाबाट माग भए बमोजिम ३७ जनाले निवेदन पेश गर्नुभएको थियो । जसमध्ये छनौट समितिले प्रतेक ३७ घरधुरीमा पुगेर उहाँहरूको अवस्था बुझेर अति विपन्न रहेका १० घर धुरी छनौट गरेको उहाँले बताउनुभयो । निवेदन दिएका अन्य २७ परिवारलाई उहाँले आँउदो वर्षहरूमा सम्बोधन गर्ने बताउनुभयो । उहाँले प्राथमिकता हेरेर कुनै पनि विभेद नगरी छनौट समितिले सिफारिस गरेकाहरूलाई जस्ताको त्यस्तै छनौट गरेको बताउनुभयो ।
उहाँले वितरण गरिएको धाराका सामाग्री देखि लिएर जडानको कार्य सबै कार्यालयबाट हुने र उपभोक्ताले मासिक शुल्क मात्रै दिर्नुपर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकारद्वय विष्णु प्रसाद भुसाल र शिव प्रसाद भट्टराईले बोल्दै संस्थालाई देशकै नमुना बनाउनका लागि विगतदेखि नै भएका प्रयासहरूका बारेमा चर्चा गर्नुभएको थियो । संस्था स्थापना गर्नेक्रममा सफल हुन्छ कि हुँदैन भन्ने शंकैशंकाबाट सुरु गरेको संस्थाले आजसम्म आउँदा आफूलाई अब्बल साबित गर्न सफल भएको बताउनुभएको थियो । आउँदा दिनहरूमा समेत यस्तै खाले सामाजिक कार्यमा सक्रिय राख्न उहाँले बर्तमन समितिलाई आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष भिमलाल कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रमिला भुजेलले स्वागत र सचिव दिपकराज लम्सालले सहजीकरण गर्नुभएको थियो ।