निर्वाचन आयोगले कांग्रेस नेता डाक्टर शशांक कोइरालालाई सात दिनभित्र जवाफ पठाउन निर्देशन दिएको छ।
सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कोइरालालाई जवाफ पेश गर्न ध्यानाकर्षण गराइएको बताए।
निर्वाचन खर्चसम्बन्धी विवरणमा कोइरालाको अभिव्यक्तिले आयोगको गम्भीर ध्यानाकर्षण भएको पौडेलले बताए।
कोइरालाले शनिबार एक कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर १ मा तीन पटक सांसद उठ्दाको खर्च विवरण सुनाएका थिए।
उनले पहिलो संविधानसभा निर्वाचनमा ८० हजार, दोस्रोमा ३ करोड र तेस्रो निर्वाचनमा ६ करोड खर्च भएको सुनाएका थिए।
पौडेलका अनुसार २०७४ सालको प्रतिनिधिसभा चुनावमा निर्वाचन आयोगले उम्मेदवारलाई २५ लाख रुपैयाँ खर्च गर्ने प्रावधान तोकेको थियो।
कोइरालाले आफ्नो खर्च विवरण पेश गर्दा २१ लाख ७५ हजार देखाएका थिए।