आचारसंहिता विपरित कार्यक्रममा सहभागी हुन खोजेको भन्दै प्रधानमन्त्री देउवालाई उजुरी

भरतपुर। निर्वाचन आचारसंहिता विपरित कार्यक्रममा सहभागी हुन खोजेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ। बिहीबारर भरतपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न चितवन आउन लागेका देउवाविरुद्ध उजुरी दर्ता भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले अधिवक्ता सुनिता अधिकारीले देउवाविरुद्ध उजुरी दिएको बताए। ‘भोलि (बिहीबार)को आमसभालाई लिएर उजुरी दर्ता भएको छ। यो विषयमा निर्वाचन आयोगलाई जानकारी गराइएको छ,’ उनले भने।

नेपाली कांग्रेस चितवनले पार्टी सभापतिकको हैसिएतमा देउवा चितवन आउन लागेको जनाएको छ। जिल्ला सभापति राजेश्वर खनालले पार्टी सभापति देउवालगायतका नेताहरु चितवन आउन लागेको बताए।

निर्वाचन आचारसंहिता २०७८ को दफा ५ ले निर्वाचनमा आफैँ उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा खेल्न हुन वा प्रचार प्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ। तर, प्रधानमन्त्रीले नेताको मात्र हैसियतमा सरकारी सम्पत्तिको प्रयोग नगरी प्रचारप्रसारमा सहभागी हुन पाउने आयोगका अधिकारीले बताए।  अन्नपूर्ण पोस्टबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *