नीति, कार्यक्रम, योजना र बजेट तर्जुमाका लागि बुलिङटारमा सुझाव संकलन

बुलिङटार । बुलिङटार गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको नीति कार्यक्रम, योजना र बजेट तर्जुमाका लागि राय सुझाव संकलन कार्यक्रम गरेको छ । केही दिन भित्र आफ्नो नीति कार्यक्रम, योजना र बजेट ल्याउने तयारीमा जुटेको गाउँपालिकाले सबैका विषय नीति कार्यक्रम र योजनामा समावेश हुन् भन्ने उद्देश्यले बुधबार राय सुझाव संकलन गरेको हो ।

नेपाली कांग्रेस बुलिङटारका सभापति ओमकुमार श्रेष्ठ, एमाले नवलपुरका जिल्ला सदस्य विद्रोही गिरी, नेकपा एमाले बुलिङटारका अध्यक्ष मनविर पुलामी, राप्रपा बुलिङटारका अध्यक्ष कृष्ण प्रसाद घिमिरे, काङ्ग्रेस बुलिङटारका सचिव प्रदिप कंडेल, बुलिङटार स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठ सहित राजनीतिक दलका विभिन्न ओहोदामा रहेका नेता, विभिन्न संघ संस्थाका प्रमुख, प्रतिनिधि, सामाजिक व्यक्तित्व, स्थानीय गरि करिब तीन दर्जन व्यक्तिहरूले नीति, कार्यक्रम,योजना र बजेटका विषयमा राय सुझाव दिएका थिए ।

कार्यक्रममा शिक्षा, स्वास्थ्या, विद्युत, खानेपानी, यस अघि सञ्चालन भएका गाउँका गौरवका योजनाको निरन्तरता, विपद व्यवस्थापनका विषय समेटी नीति कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।

सहभागिताल, प्राविधिक शिक्षा, शिक्षाको गुणस्तर वृद्धि, स्वास्थ्य संस्थाको स्तरोन्नति, महिला बालबालीका लक्षित कार्य समेत अबको नीति कार्यक्रममा समावेश गर्नुपर्ने सहभागीको सुझाव थियो ।

यसैगरी सेवाग्राही मैत्री कार्यालय, कृषिमा हुने प्राकृतिक प्रकोपको क्षतिमा राहत, उत्पादन मुखी कार्य, समयमा मल बिउको उपलब्धता, बजारीकरणमा सहयोग, सार्वजनिक जग्गाको संरक्षण, धार्मिक तथा पर्यटकीय संरक्षण, यसै गरि नागरिकको गाउँपालिकासँगै सिधै पहुँच हुने जस्ता कार्यक्रम समेत आवश्यक रहेको सहभागीको भनाई थियो ।

लाभ र लागतको आधारमा योजना बनाउने, घरेलु उद्योग स्थापनामा सहजिकरण, लैङ्गिक हिंसा न्यूनिकरणका योजना, गाउँमा एकीकृत सेवा प्रणाली, ढलको उचित व्यवस्थापन, जीर्ण निरन्तर मर्मत , सिकाइ केन्द्रको व्यवस्थापन सहित नगरको दीर्घकालीन विकासको सोच राखी योजना छनौट गर्नुपर्ने सुझाव समेत कार्यक्रममा आएका थिए ।

सहभागिका सुझाव पछि बोल्दै गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी आएका सझावका करिब ८० प्रतिशत विषय समेटिएको बताउदै, छुटेका विषयलाई समेटेर नीति तथा कार्यक्रम बनाउने बताउनुभयो । कतिपय योजना एकै वर्षमा सम्पन्न गर्न नसकिने भएपनि योजनागत रुपमा अघि बढाउदै लगिने उहाँले बताउनुभयो । गाउँपालिकाको नीति तथा कार्यक्रम आम गाउँबासीको आफ्नो नीति तथा कार्यक्रम भएको बताउदै सबैका सुझाव संकलन गर्नका लागि कार्यक्रम आयोजना गरिएको समेत गाउँपालिका अध्यक्ष सुनारी मगरले बताउनुभयो ।

कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत सिताराम खनालले नीति, कार्यक्रम र योजनामा कुनै पनि क्षेत्र नछुटोस् भनेर छलफल कार्यक्रम गरिएको बताउनुभयो । प्राथमिकताको आधारमा राम्रो नीति तथा कार्यक्रम बनाउन राय सुझावले सहज होस भनेर कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

यसैगरि गाउँपालिकाका लेखा अधिकृत बाबुराम तिवारीले प्राप्त सुझावका आधारमा नीति कार्यक्रम बन्ने र सोही आधारमा बजेट विनियोजन हुने हुँदा यसले विकासको ईट्टा थप्ने काम गर्ने बताउनुभयो । नीति कार्यक्रम यथार्थ परक, कार्यान्वयन गर्न सकिने होस भनेर छलफल कार्यक्रम गरिएको लेखा अधिकृत तिवारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *