कालीगण्डकी करिडोर ५ दिन सम्म पनि खुल्न सकेन, खुल्न अझै २/३ दिन लाग्न सक्ने

बुलिङटार, २५ साउन
नवलपुरको गैंडाकोट देखि पाल्पा जोड्ने मुख्य सडक कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । लगातारको भारी वर्षा र सुख्ख पहिरोका कारण अवरुद्ध भएको करिडोर ५ दिन सम्म पनि खुल्न सकेको छैन । जिल्लाको बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाको सदरमुकाम जोड्ने सडक मध्य कालीगण्डकी करिडोर पनि एक हो । बुलिङटार र गैंडाकोट नगरपालिकाको सिमानामा रहेको तरङ्ग खोला नजिक गैंडाकोट नगरपालिकाको क्षेत्रमा पर्ने रोडमा पहिरो खसि बाटो अवरुद्ध भएको हो । अहिले बुलिङटार देखि गैंडाकोट सम्म हिडेरै आवत जावत गर्नु पर्ने बाध्यता रहेको छ । एक हप्ता वित्न लाग्दा समेत उक्त बाटो खुल्न नसकेको कारण बुलिङटारका जनताहरु थप मारमा परेको छ । बुलिङटारबाट गैंडाकोट आउने यात्रुहरु दलदलेबाट तथा तनहुँ दमौली हुदै महाङ्गो भाडा तिरेर आउनु पर्ने बाध्यता रहेको छ ।

 

यसैक्रम्मा अबको दुई तीन दिनमा बाटो खोलि सक्न निर्देशन दिइएको कालीगण्डकी करिडोरका कार्य निरिक्षक बी.एल निरौलाले बुलिङटार न्यूजलाई बताउनु भयो । उहाँले भन्नुभयो “हामी निरन्तरमै छौँ, बाटो अवरुद्ध वर्षाको कारणले मात्रै भएको भए पानी नपर्दा खुलिसक्थ्यो । सुख्ख पहिरोले गर्दा थप समय लागेको हो ।” उहाँले अरु सबैतिर मिलेको र त्यही मात्रै बाकी रहेको बताउनु भयो ।

 

उक्त पहिरोमा अपरेटरहरु काम गर्न नमान्ने गरेको कालीगण्डकी करिडोरमा कार्यरत आशिष निर्माण सेवाका सव इन्जिनियर रमेश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नु भयो “यो पहिरोमा काम गर्ने तीन जना भागिसके, यहाँ काम गर्न गाह्रो पनि छ, काम गर्दै गर्दा १०० मिटर जति माथि उचाई छ, पहिरो खसिरहन्छ । तर हामी निरन्तर प्रयासमा छौं ।” जति खन्यो त्यति नै सुख्ख पहिरो खस्ने श्रेष्ठले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *