कांग्रेस कार्यालयमा बढ्यो चहलपहल, आकांक्षी भन्छन्, ‘टिकट दिँदा पैसा मात्रै हेर्नु भएन’

काठमाडौं। मंसिर ४ गते हुने निर्वाचनको सरगर्मी बढेको छ । कांग्रेस पार्टी कार्यालय पुग्ने हो भने व्यक्तिगत विवरण लिएर आउनेको लर्को नै छ ।

जिल्लाबाट आएका नेता, कार्यकर्ता केन्द्रीय कार्यालयका कोठाकोठामा छलफलमा भेटिन्छन् । आकांक्षीले टिकट नपाए शीर्ष नेतालाइ पनि सहयोग नगर्ने चेतावनी दिइरहेका छन् ।

एक त गठबन्धनका कारण सिटसंख्या घट्ने छ भने एकै ठाँउमा १९ जनासम्म आकांक्षी देखिएपछि उम्मेदवार छनोट पेचिलो बनेको छ । यति मात्र होइन पार्टीभित्रको गुटगत प्रभावले पनि कांग्रेसलाई उम्मेदवारको निर्णय गर्न कठिन छ ।

लामो समयसम्म राजनीति गरेकादेखि भातृसंगठनको नेतृत्व गरेकाले यो पटक अवसर पाउनुपर्ने माग गरिरहेका छन् ।

काठमाडौं टोखा नगरपालिका ११ की फूलमाया विश्वकर्माले पार्टीमा संघर्ष गरेका व्यक्तिलाई शीर्ष नेताले बेवास्ता गरेको गुनासो गरिन् । जनआन्दोलनकी घाइते विश्वकर्माले आफूहरु लाई पनि उचित स्थान दिनुपर्ने माग गरिन ।

उनले भनिन् ‘हाम्रो योगदानको कदर नै छैन, आन्दोलनमा यो गर त्यो गर भन्ने नेताहरूआज देखेको नदेखै झैँ गर्छन् , हिजो आन्दोलनमा होमियौँ परिवर्तन ल्यायौं तर आज हामी कहाँ छौँ कसैलाई वास्ता छैन ।’

देशभर युवा नेतृत्वको बहस भइरहेका बेला नेपाली कांग्रेसले पनि युवालाई अवसर दिनुपर्ने कैलाली घोडाघोडी(८ की सम्झना खत्रीको भनाइ छ ।

उम्मेदवार छनोट गर्दा नेताले चाहेको भन्दा जनताले चाहनेलाई बनाउनुपर्ने उनले सुझाइन् । उनले भनिन् ‘पार्टीको गति र काम गर्ने शैली परिवर्तन गर्न जरुरी छ । अबको समयमा क्षमतावान युवालाई अगाडी बढाउनुपर्छ ।’

लामो समयसम्म त्रिभुवन विश्वविद्यालय नेविसंघको नेतृत्व गरेकी खत्रीले अब राष्ट्रिय राजनीतिमा अघि बढ्ने सुनाइन् ।

नेपाली कांग्रेसले विधानअनुसार उम्मेदवारको टुङ्गो नलगाउँदा पार्टीमा वास्तविकभन्दा सेलीब्रेटी कार्यकर्ता हावी भएको धनकुटा प्रदेशसभा क्षेत्र ९ख० का क्षेत्रिय सभापति राजन पौडेलको गुनासो छ ।

संविधानको मर्मअनुसार कलस्टरअनुसार उम्मेदवार छनोट गरे कोही कार्यकर्ता पनि पीडित हुनु नपर्ने उनको दाबी छ ।

उनले भने, ‘माथिल्लो नेताले रोजेका व्यक्तिलाई उम्मेदवार बनाउँदा व्यक्ति मात्र होइन पार्टी नै कमजोर बन्छ भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ, पार्टीका लागि श्रम पसिना बगाएर संगठन बनाउने कार्यकर्तालाई उछिनेर पैसावाला र विवादीत व्यक्तिलाई उम्मेदवार बनाउन हुँदैन ’

अबको निर्वाचनमा पैसाकै कारणले उम्मेदवारी दिन वञ्चित गर्न नहुने पाल्पाका नेता माधवप्रसाद नेपालले बताए । लामो समयसम्म पार्टीमा योगदान गरेका जेल नेल खाएका इमान्दार नेताहरूको सम्मान गर्नुपर्ने उनको तर्क छ ।

उनले भने ‘हिजो संगठन बिस्तार गर्ने, पार्टीलाई मजबुत बनाउने इमान्दार कार्यकर्तालाई आज पैसा छैन भन्दैमा उम्मेदवार नबनाउने भन्ने कुरा हुँदैन ।’

उनले शीर्ष नेतासँग उठबस भएकै कारणले टिकट पाउने प्रवृतिले सच्चा कार्यकर्ताको मन दुखेको सुनाए । केन्द्रीय कार्यालयमा भेटिएका अधिकांशले योग्यता र क्षमता बुझेर टिकट दिन शिर्ष नेतृत्वलाई सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *