जब पानी र बगर घरभित्र पसे

बुलिङटार, २७ असोज
गत असोज १८ गते देखि निरन्तर पानी परिहेको थियो । घरभन्दा माथी सानो सानो पहिरो खसेको थियो । कतै माथिबाट पहिरोले घर पुरिन्छ की भन्ने कुराले २० गते नै हाम्रो मनमा चिन्ताको घर बनाइसकेको थियो ।
२१ गते बिहानको करिब ५ बजेको थियो । नभन्दै माथीबाट पानी बगरका साथ बग्दै आउदा घरको बरन्डामा बसेका भिमसेन गरंजा मगर घाटी तन्काएर घरतिर बग्दै आएको पानी र बगर तर्फ हेरे । रातभरी यहि घट्ना हुन्छकी भन्ने चिन्तामा बसेका गरंजा मगर आत्तिए । भरखर रातलाई पन्छाउदै उज्यालो हुन लागेको थियो । असोजको २१ गते बिहानको करिब ५ बजे ठूलो वेगले एक्कासि ड्याङडुङ आवाज सुनेपछि उनी एक्कासि निद्राबाट ब्युँझिए । आँखा मिच्दै दैलो उघार्दै बाहिर निस्कँदा एक्कासि घरभित्र पानी र बगर भरिएका देख्दा उनलाई कताकता सपनामा रहेजस्तो अनुभूति भयो।

बुलिङटार गाउँपालिका–२ भाङबारी बस्ने भिमसेन लगातार ड्याङडुङ्ग आवाजले घर नै हल्लाउने गरी घर अगाडिका बारी सखापै पारेर पहिरोसँगै खसेको देखेपछि आफ्नो श्रीमती र मिठो निन्द्रमा रहेका बालबच्चाहरुलाई लिएर गुहार माग्दै गाउँ पसे ।

मीठो निद्रामा रहेको गरंजाको परिवारलाई यस पटकको वर्षाले जीवनभर नमेटिने संकटको अवस्था सिर्जना गरिदियो । राहत दरबन्दीमा पढाउदै आएका गरंजा दुःखले बनाएको घर छाड्नुपर्ने अवस्थाले आफूलाई जीवनभर पीडा थपिदिएको गुनासो पोख्छन् ।

गाउँ नै सखापै पार्ने गरी ठूलो डाँडा चर्केको छ, घर वरिपरी खेतमा लगाइएका धान, कोदो, गेडागुडी सहितको सबै जमिन एकैछिन माटोमा विलीन हुन पुग्यो, घरभित्र पस्न सक्ने अवस्था छैन, अब केही समयका लागि छिमेकीकोमा बसेको छु, उनले भने, “कमाउने आधार भनेको राहत दरबन्दिमा शिक्षक पेसामा छु, बल्लतल्ल दुःखले बनाएको घर पनि पहिरोले गर्दा बस्नै नहुने भयो ।” उनले थपे “बगर सहित पानी घरमा र गोठमा पस्न थाले करिब ८० वटा बाख्रालाई बल्लतल्ल निकाल्न सके, एक हल गोरुलाई छाडी दिए, लोकल कुखुराहरु थियो छाडी दिए । अनि गाउँलेहरुको सहायताले सबै परिवार सकुशल भाग्न सफल भयौं । ”

पहिरोले भिमसेनको नौ जनाको परिवार बिचल्लीमा परेको छ । घरमा पहिरो पसेपछि उनको परिवार अर्काको घरमा बस्न बाध्य भएका छन् ।

अहिलेसम्म कसैबाट केही राहत नपाएको उनी बताउँछन् ।
पहिरो गएको भोलीपल्ट वडा नं २ का वडाध्यक्ष कमलराज बकावल मगर उक्त घरमा अवलोकनका लागि गएको र आफुले यस घटनालाई गम्भिर रुपमा लिइएको बताए । यससंगै सम्बन्धित निकायमा यस घटनाको सम्बोधन गरिने वडा अध्यक्ष बकावलले बताए ।

 

ढुंगा, माटोबाट निर्मित सो घरमा ९ जनाको परिवार बसोबास गर्दै आएकामा अहिले घर नै छाडेर अन्यत्र बास लिनुपर्दा अप्ठ्यारो परेको छ ।छिमेकीको घरमा पनि पर्याप्त बस्ने ठाउँ नहुँदा पीडितलाई थप समस्या निम्तिएको छ ।

गाउँमा सोच्दै नसोचेको विपद् आइपरेको छ, रातभर निद्रा लाग्दैन, जतिबेला पनि पहिरो खसेको त्यस दिनको आवाज मात्रै कानमा गुञ्जिरहन्छ, हाललाई ज्यान बचाउन छिमेकीको घरमा बसोबास गरिरहेका छौं, कतिन्जेलसम्म यसरी बस्ने हो जीवनको कुनै ठेगान छैन, गरंजा मगरले भने ।

हाल उक्त गाउँमा २०÷२२ घरपरिवार बसोबास गर्दै आएका छन् । गाउँका अन्य आसपासका घरहरूमा पनि जोखिम उत्तिकै छ ।

पहिरो गएको स्थानदेखि सिधै तल बस्ती नरहेकाले मानवीय क्षति भने हुन पाएन। पहिरो प्रभावित क्षेत्रमा यहाँका स्थानीयले परापूर्वकालदेखि नै मकै, कोदो, गेडागुडी जस्ता कृषि बाली लगाउँदै आएका थिए ।

पालिकाका इन्जिनियर रमेश सापकोटा, प्रहरी टोली लगायत स्थानीयहरुले अवलोकन गरेको थियो ।

ढाडबेशीमा बस्ति सखाप
यसैगरि बुलिङटार १ ढाडबेशीमा घरघरमै पहिरो पसेको छ । निरन्तर पानी परिरहेका कारण दुई घर एक विद्यालयमा पहिरो पसेको हो । स्थानीय भुपेन्द्र डिसुवा मगरको नवनिर्मित घरमा, नवनिर्मित बाख्राको खोरमा, मौरीको घार, टमाटर टनेल र कागती विरुवामा पहिरो पसि क्षति भएको छ । यस्तै जनजागृति माध्यमिक विद्यालयमा पनि बगर पसेको छ । विद्यालयका प्रधानाध्यापक हिरा सिंह रेश्मी मगरका अनुसार खानेपानी टंकी नै बगाएको छ । टंकी बगाएपछि उक्त बस्तिमा खानेपानीको समस्य बढेको छ । विद्यालयमा शौचालय र पानी पसेर कक्षा कोठामा लेदो पसेपछि विद्यार्थीहरुलाई असहज महसुस भएको बताए ।

गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले अकस्मात गएको पहिराले गाउँका धेरै घर परिवारहरू विस्थापित हुन पुगेकाले पीडितको अवस्था हेरेर तत्काल समाधान गर्नुपर्ने समस्यालाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने बताउँछन् ।

पीडितलाई खानबस्नका लागि समस्या परेमा आवश्यक सहयोग गर्ने र वैकल्पिक बसोबासका लागि पालिकाको खर्चले धान्न नसक्ने अवस्था सिर्जना भएमा प्रदेश र संघ सरकारमार्फत सहयोग माग गर्ने अध्यक्ष सुनारीको भनाइ छ।

पहिरो पीडितको उचित व्यवस्थापनका लागि तत्काल पालिकाले नै सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउनुपर्ने र आवश्यक सहयोगका लागि प्रशासन कार्यालयले माथिल्लो निकायमा जानकारी गराउने प्रहरी चौकी बुलिङटार कार्यालयका प्रहरी नायक निरिक्षक रामदेव शाहले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *