नवलपुरमा दश करोड ५६ लाख मूल्य बराबरको सुन्तला उत्पादन

दयाराम आचार्य
नवलपुर ।  नवलपुरमा यस वर्ष रु. दश करोड ५६ बढी मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । यहाँका सुन्तला खेती गर्ने किसानले यस वर्ष रु १० करोड ५६ लाख २५ हजार बराबरको सुन्तला बिक्रि गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ,परियोजना कार्यान्वयन इकाइ नवलपुरका प्रमुख विष्णु शर्माले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख शर्माका अनुसार यसवर्ष नवलपुरमा एक हजार ६२५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । यो गत वर्ष भन्दा करिब २० प्रतिशतले बढि सुन्तला उत्पादन भएको उहाँले बताउनुभयो । अनकूल मौसम , बगैँचा व्यवस्थापनमा सुधार ,क्षेत्रफल बिस्तारले सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । पहिले सामान्य रुपमा सुन्तला लगाउने किसानले जिल्लामा सुन्तला जोन कार्यक्रम पछि सरकारबाट विभिन्न खालका प्राविधिक सहयोग र अनुदान प्राप्त गरेपछि यसतर्फ आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । यसले क्रमश सुन्तला उत्पादनमा वर्षेनी वृद्धि हुने उहाँको भनाई छ । ‘यस तर्फ किसान आकर्षित छ, आम्दानी पनि राम्रो गरेकाछन् , जोन कार्यक्रमबाट प्राविधिक सहित , अनुदानका कार्यक्रमले सुन्तला खेती तर्फ लाग्नेको संख्या बढाउँदै गएको छ’ कार्यालय प्रमुख शर्माले भन्नुभयो ‘ भोलीका दिनमा थप उत्पादन बढ्दै जाने देखिन्छ।’

नवलपुरको बौदिकाली, बुलिङटार , गैँडाकोटको पहाडी क्षेत्रमा सुन्तला खेती लगाउने किसानको संख्या धेरै रहेको छ । कार्यालय प्रमुख शर्माका अनुसार नवलपुरमा हाल ४ सय ३८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ ।
जिल्लामा उतपादन भएको सुन्तलाको बजारीकरण ठूला शहरहरु हुने गरेको छ । स्थानीय बजार सहित नारायणगढ ,काठमाण्डौंमा जिल्लाबाट उत्पादन भएको सुन्तला खपत हुँदै आएको उहाँको भनाई छ ।

जिल्लामा उत्पादन भएको सुन्तलाबाट यहाँका किसानले राम्रो आम्दानी गर्ने गरेकाछन् । बबको सुन्तला किसा देउबहादुर रानाले यसपट उत्पादन राम्रो हुँदा आम्दानी पनि राम्रो भएको बताउनुभयो । पहाडी क्षेत्र अन्र्तगत बौदिकाली –५, बबक सुन्तला उत्पादनका लागि प्रख्यात क्षेत्र मानिन्छ । यहाँका करिब सबै जसो स्थानीय सुन्तला खेतीमा लागेका छन् । अहिले समय राम्रो हुँदा उत्पादन राम्रो भएको र आम्दानी समेत बढेको रानाले बताउनुभयो । सुन्तला जोन कार्यक्रम मार्फत प्राविधिक सहयोग सहित बगैँचा व्यवस्थापनमा सहयोग सहित विभिन्न अनुदान प्राप्त गर्दा गाउँमा सुन्तला खेती तर्फ किसानको आकर्षण बढेको उहाँले बताउनुभयो । ‘अरुबाली लगाउ खासै हुँदैन, केहिवर्ष यता सुन्तलाबाट आम्दानी हुन थालेपछि धेरै जसो यसतर्फ लागेका छन्’ उहाँले भन्नुभयो ‘यहाँका स्थानीयको आम्दानीको बलियो स्रोत बनेको छ ।’

जिल्लामा यस वर्ष सुन्तलासँगै कागती उत्पादनबाट समेत किसानले लाभ लिएका छन् । यस वर्ष २ सय ४० मेट्रिकटन कागती र ७५ मेट्रिकटन निबुवा उत्पादन भएको परियोजना कार्यान्वयन इकाइ नवलपुरका प्रमुख शर्माले बताउनुभयो । किसानले यसको बिक्रिबाट क्रमश रु। २ करोड ४० लाख र रु। १८ लाख ७५ हजार प्राप्त गरेको उहाँले बताउनुभयो । सुन्तला ,कागती र निबुवा गरि अमिलोजातको फलफूल बिक्रिबाट यहाँका किसानले कुल रु। १३ करोड १५ लाख आम्दानी गरेको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *