बुलिङटार ५ बाट सुरु भयो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

बुलिङटार, २२ माघ

नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं ५ मा वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ । ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तहरुलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि बुलिङटार गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको हो ।

बृद्ध तथा अशक्तहरुको समस्यको पहिचान गरि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न व्यवस्था गरिएको बुलिङटार गाउँपालिकाका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरले बताउनु भयो । अहिले पालिकाको प्रशासकीय केन्द्र बुलिङटार ३ मा बैंक रहेको कारण टाढाको वडाबाट आउन जान मात्र पुरा दिन लाग्ने भएपछि वडाबाटै भत्ता वितरणको काम गरिएको अध्यक्ष सुनारीले जानकारी दिनुभयो । पालिकाभित्रका ६ वडा मध्ये वडा नं ५ बाट सुरु गरिएको सामाजिक सुरक्षा भत्ता वितरण अरु वडाहरुबाट पनि वितरण गर्न पहल गरिएको अध्यक्ष सुनारी मगरले बताउनुभयो ।

बैंकमा भत्ता लिन आउँदा र जाँदा भाडामानै धेरै रकम खर्च हुने भएपछि गाउँ घरकै वडाबाट भत्ता वितरणको काम सुरु गरी सेवा प्रवाहमा सहजता ल्याइएको प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रले जानकारी दिनु भयो ।

बुलिङटार गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन् । बुलिङटार गाउँपालिकनका धेरै वडा विकट र दुर्गममा रहेको हुँदा बैंकमा भत्ता लिन जान निकै कठिन परेको बेला वडाबाटै भत्ता बुझ्न पाएपछि उहाँहरुको मुहारमा खुशी झल्किएको हो ।

बैंकमा घण्टौँसम्म लाइन बसेर वृद्घभत्ता बुझ्दै आएका बुलिङटार गाउँपालिका वडा नं ५ का ८३ बर्षीय जग बहादुर थापा यस आर्थिक बर्षको दोस्रो त्रैमासिकको भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित हुनुभएको छ । उहा भन्नुहुन्छ, ‘निर्वाचनका बेला भोट माग्न आउँदा वृद्ध भत्तावडाबाट दिन्छौँ भन्थे,त्यतिबेला विश्वास लागेको थिएन,अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिबद्धता अनुसार नै काम सुरु गरेकोमा निकै खुशी लागेको छ।’

त्यस्तैगरी, सोही वडाका ७८ बर्षीया गंगिसरा थापा पनि वडाबाट वृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर आँगनमै आएको जस्तो लागेको बताउँनुहुन्छ । ‘भत्ता बुझ्नका लागि चार पाँच घण्टा हिँडेर बुुलिङटार ३ मा रहेको नविल बैंकमा जानुपथ्र्यो, बूढेसकालको शरीर आउन जानै समस्या’, उहाँले भन्नुभयो, ‘अहिले त नगरपालिका र जनप्रतिनिधिले ज्येष्ठ नागरिकको मनोभावना बुझेर होला वडाका गाउँबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन्।’ उहाँहरु जस्ता धेरै ज्येष्ठ नागरिकलाई वडाबाटै भत्ता वितरण कार्यले ठूलो राहत मिलेको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही, गर्भवती महिला,अपाङ्ग लगायतको बैंक सम्म पुग्ने समय र पैसाको बचत भएको वडा नं ५ का अध्यक्ष विजय थापा मगरले बताउनु भयो ।

भौगोलिक रुपमा टाढा रहेकाले वृद्धहरुलाई सहज सेवा प्रदान गर्नका लागि वडामै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष राना मगरले बताउनु भयो ।सामाजिक सुरक्षा भत्ता वडामै पाउँदा धेरैलाई राहत मिलेको बताउँदै बुलिङटार गाउँपालिकामा लक्षित वर्गको सामाजिक सुरक्षा भत्ता बैंकमा आएर लाईनमा बसी लिनुपर्ने बाध्यताको अन्त्य भएको उपाध्यक्ष रानाले बताउनुभयो ।

शनिबार वडा नम्बर ५ का नागरिकहरुहाई सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *