सरकारले ल्याएको बजेट कर्मकाण्डीमात्रै हो; नेता गुरुङ

टेकराज पोखरेल । नवलपुर । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएको बजेट कर्मकाण्डीमात्रै भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल नवलपुर शाखाको नवौँ वार्षिक साधारणसभाको बुधबार कावासोतीमा उद्घाटन गर्दै नेता गुरुङले सरकारले ल्याएको बजेट सबै राम्रा विषयवस्तुहरु समेटिएका निबन्ध जस्तै भएको प्रतिकृया दिनुभयो ।

 

 

 

 

“सबै पक्षका राम्रा विषयवस्तुहरु समावेश गरेर तयार पारिएको सुन्दर निबन्ध जस्तै बनेको छ अहिलेको बजेट” उहाँले भन्नुभयो, “हचुवाको भरमा आएको यो बजेटबाट सुशासन र समृद्धि हासिल हुन सक्दैन ।” सङ्घीयतालाई कमजोर पार्ने गरी अहिलेको सरकारले बजेट ल्याएको उल्लेख गर्दै नेता गुरुङले यो बजेटबाट सुशासन र समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ । “बजेटको १७ प्रतिशतमात्रै स्थानीय तहमा पठाइएको छ, अर्को १७ प्रतिशत बजेट विकास निर्माणमा प्रयोग हुने भनिएको छ” उहाँले भन्नुभयो, “बाँकी ६६ प्रतिशत बजेट चालु पुँजीको रुपमा आएका कारण यो बजेटमा विकासको कुरा नारामै सीमित हुन्छन् ।”

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको विषय एमसीसी कार्यान्वयनका लागि भएको टिप्पणी गर्नुभयो । “कुन–कुन स्थानमा बिजुली उत्पादन गर्न भारतलाई दिने र अन्तरदेशीय विद्युत् लाइन कसरी विस्तार गर्ने भनेर छलफल गर्नका लागि नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा हुन लागेको हो” उहाँले भन्नुभयो, “भारतको सहमती भएमा नेपालबाट बङ्गलादेशसम्म विद्युत् प्रसारण लाइन पु¥याउनेबारे छलफल हुन्छ ।”

भारतीय प्रधानमन्त्रीले नेपालका भूभागलाई समेटेर नक्सा जारी गरेको विषयमा नेपालका प्रधानमन्त्रीले कडा आपत्ती जनाउनुपर्नेमा गुरुङले जोड दिनुभयो । “भारतका प्रधानमन्त्री मोदीसँग नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कुरा भन्न सक्नुहुन्छ कि सक्नुहुन्न, किन चाहिँ हाम्रो भूभाग समेटेर नक्सा जारी गरेको हो रु” उहाँले अगाडि थप्नुभयो, “यसमा हाम्रो गम्भीर असहमति छ, यसमा हाम्रो गम्भीर विरोध छ भनेर भन्न सक्नुहुन्छ कि सक्नुहुन्न हाम्रो प्रधानमन्त्रीले रु” नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा यी विषयहरु समावेश नै नभएको गुरुङले दाबी गर्नुभयो ।

“प्रधामन्त्री प्रचण्ड पनि घेराबन्दीमा हुनुहुन्छ, स्वाधिनताको विषयमा कुरा उठाउनै सक्नुहुन्न” उहाँले भन्नुभयो, “लिपुलेक, लिम्पियाधुरा, कालापानीका कुरा कहाँ उठाउन सक्नुहुन्छ उहाँले रु” नेपालका प्रधानमन्त्रीको एजेण्डा नै जलविद्युत्का विषयमा भएको भन्दै अन्य कुरा उठान भएन भनेर आश्चर्य नमाने हुने गुरुङले बताउनुभयो । अहिलेको प्रधानमन्त्रीको उच्चस्तरीय भारत भ्रमण भए पनि नेपालको विकास निर्माणको लागि कुनै छलफल र सम्झौता नहुने उहाँले बताउनुभयो ।

यसैबीच, प्रेस चौतारी नेपाल नवलपुर शाखाको नवौँ वार्षिक साधारणसभाको क्रममा राससकर्मी दयाराम आचार्यसहित तीन पत्रकार पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य विद्रोही गिरीले आफ्नो स्वर्गीय बुबाको नाममा स्थापना गर्नुभएको ‘कृष्णराज गिरी विकास पत्रकारिता पुरस्कार’बाट राससकर्मी दयाराम अचार्य, प्रेस चौतारी नवलपुरले स्थापना गरेको ‘प्रेस चौतारी सिर्जनशीलता पुरस्कार’बाट भविश्वर पाण्डे एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हिमालदेव पङ्गेनीले आफ्ना स्वर्गीय हजुरबुवा हजुरआमाको नाममा स्थापना गर्नुभएको ‘खोज पत्रकारिता पुरस्कार’बाट राजेश सोनाम नगदसहित पुरस्कृत हुनुभएको हो । तीनवटै पुरस्कारको राशि रु १० हजार रहेको प्रेस चौतारी नेपाल नवलपुर शाखाका अध्यक्ष शालिकराम कोइरालाले जानकारी दिनुभयो ।

 

 

साधारणसभाका क्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले महासङ्घमा पत्रकारहरुको सदस्यता शुद्धीकरण आवश्यक भएको भन्दै यसमा प्रेस चौतारीले पूर्ण सहयोग गर्ने बताउनुभयो । पत्रकारिता बाहेक सबै काम गर्ने मानिस पत्रकार महासङ्घमा आबद्ध भएकाले पत्रकारहरुको वृत्तिविकासमा असर पुगेको भन्दै शुद्धीकरणमा खुट्टा नकमाउन पाण्डेले महासङ्घलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *