“बस्न योग्य, हेर्न लायक बुलिङटार” निर्माणको आधार तयार गर्दैछौं, अध्यक्ष सुनारी

तिर्थराज डुम्रे
बुलिङटार । नवलपरासी पूर्वको बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले अहिलेको स्थानीय सरकार “बस्न योग्य हेर्न लायक बुलिङटार” निर्माणको आधार तयार गर्ने चरणमा रहेको बताउनु भएको छ । उहाँले खानेपानी, स्वास्थ्य, शिक्षा, विद्युत, सिचाईं जस्ता आवश्यकहरुको उपभोग गर्नबाट स्थानीय बञ्चीत हुनपरेको तितो यथार्थ रहेको भन्दै स्थानीय बासिन्दाहरुको आधारभूत आवश्यक पूर्ति गर्ने चरणमा अहिले गाउँपालिका रहेको बताउनुभयो । जबसम्म स्थानीय बासिन्दाहरुको आर्थिक अवस्थामा सुधार हुदैन तब सम्म गाउँपालिकाले लिएको लक्ष्य पुरा हुन नसक्ने भन्दै उहाँले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा आर्थिक क्षेत्रको बिकासको लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने बताउनुभयो ।

गाउँपालिकाले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिनुहुदै अध्यक्ष सुनारीले बुलिङटार बृहत्त खानेपानी आयोजना सहित विभिन्न खानेपानी आयोजनाको लागि विगतको समयमा खरिद भएको सामाग्रीहरु हराएको लगायतको विषयमा छानविन समिति गठन गरेर काम गरिरहेको उहाँले बताउनुभयो । खानेपानी जस्तो आधारभूत आवश्यकता पूर्तिको विषयमा आफु गम्भीर रहेको भन्दै उहाँले छानविन समितिको प्रतिवेदन लगत्तै ति योजनाहरुलाई पूर्णता दिने काममा लाग्ने बताउनुभयो ।

 

कार्यक्रममा सहभागीहरुले गाउँपालिकाको विभिन्न वडाहरुमा सञ्चालित खानेपानी आयोजनाहरु, सिचाईंको व्यवस्था, वडा नं. १ र २ मा राष्ट्रिय प्रशारण लाईनको विद्युतिकरण, पुँजिगत खर्च न्यून हुनुको कारण, कालिगण्डकी करिडोर अन्तर्गतको पुल निर्माण, नदीजन्य पदार्थको व्यवस्थापन, जनप्रतिनिधिहरु बीचको एकरुकता सहित बस्न योग्य हेर्न लायक बुलिङटार निर्माणको आधारबारे जिज्ञासा राखेका थिए ।

उक्त जिज्ञासाहरुको उत्तर दिनुहुदै अध्यक्ष सुनारीले पटकपटक ठेक्का आह्वान हुदापनि ठेक्का सम्झौता हुन नसेको कारण रोकिएको वडा नं. १ र २ को विद्युतिकरण अब ठेक्का सम्झौता भएर कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । गाउँपालिकाको सबै वडाका कृषि योग्य जमिनहरुमा सिचाईंको प्रबन्ध मिलाउन पुराना नहरहरुको मर्मत, कालिगण्डकीको पानी लिफ्टीङ्गको सम्भाव्यता अध्ययन गर्ने योजनामा गाउँपालिका रहेको बताउनुभयो ।

कालिगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन् तथा विक्रि वितरणको लागि सर्वोच अदालतको अन्तरिम आदेशको कारण समस्या भएको भन्दै उहाँले यस वर्ष अन्य दुई वटा खोलालाई भने ठेक्का सम्झौता भई उत्खनन्को काम भइरहेको बताउनुभयो । कालिगण्डकी करिडोर अन्तर्गतको निरन्दीखोला पुल निर्माणको सम्बन्धमा पटक पटक सम्बन्धीत कार्यालय र ठेक्केदारसंग समन्वयको काम भएपनि काम अगाडी बढ्न नसकेको भन्दै थप पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
जनप्रतिनिधिहरु बीचको सम्बन्धमा एकरुपता नहुदाँ निर्धारण गरेको लक्ष्य कसरी पुरा हुन्छ भन्ने सहभागीको प्रश्नको जवाफ दिदै अध्यक्ष सुनारीले शुरुवातको दिनमा केही असहजता भएपनि अहिले सबै जनप्रतिनिधिहरु बीच समान बुझाई र पालिकाको बिकासको लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले गाउँपालिकाको वर्तमान सरकार पारदर्शिता, जवाफदेहिता र विधिको शासनमा संवेदनशिल रहेको भन्दै अब निरन्तर सार्वजनिक सुनुवाई लगायतको काम अगाडी बढ्ने बताउनुभयो । उहाँले कार्यालयबाट सम्पादन हुने सेवाहरुको विषयमा थप केही जिज्ञासाहरु भएमा कार्यालयमा आएरपनि प्रश्नहरु राख्न सक्ने सेवाग्राही तथा सहभागीहरुलाई जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरु मध्ये प्रशासनिक कार्यहरुको जवाफ दिदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले केन्द्रीय बजेट संरचना देखि नै पुँजिगत भन्दा चालु खर्चमा बजेटको विनियोजन र कार्यान्वयन धेरै हुने अवस्था रहेको उहाँले बताउनुभयो । कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक लगायतको तलबहरु पनि चालु खर्चमा नै हुने हुदाँ ठुलो रकम चालु खर्च हुने गरेको उहाँले बताउनुभयो । उहाँले सिफारिस दस्तुर लगायत करको बारेमा आर्थिक ऐनमा व्यवस्था भएबमोजिम संकलन गरिएको भन्दै प्राप्त सुझावको आधारमा गाउँसभाले त्यसलाई संशोधन गर्न सक्ने बताउनुभयो ।

सार्वजनिक सनुवाईसंगै आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटको सम्बन्धमा सुझाव संकलन कार्यक्रम पनि समावेश गरिएको थियो । प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने सो क्रममा अध्यक्ष दिपेन्द्र सुनारीले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका भित्र क्रियाशिल विभिन्न राजनितिक दलका प्रतिनिधि, युवा, व्यवसायि, संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकामा पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भएकोमा धन्यवाद दिदै सहभागीहरुले कार्यक्रमलाई निरन्तरता दिन समेत अनुरोध गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *