अश्लील पोस्टमा ट्याग गरी फेसबुक अकाउन्ट ह्याक गर्दै ह्याकर, जोगिन के गर्ने ?

काठमाडौं । पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक गरी अश्लील सामग्रीका रुपमा मालवेयर फैलाउने क्रम बढेको छ ।

यस्तोमा सबैभन्दा पहिले ह्याकर फेसबुक प्रयोगकर्तालाई फिशिङ लिङ्क पठाउँछन् । त्यस्ता लिङ्कमा क्लिक गरिसकेपछि उनीहरू (लिङ्क क्लिक गर्ने) को अकाउन्ट ह्याकरको कब्जामा पर्छ । अनि उक्त अकाउन्टबाट पनि अश्लील देखिने पोस्टका लिङ्क शेयर गरिन्छ ।

यस्तो पोस्टमा बाहिर अश्लील क्याप्सन वा फोटो राखिएको हुन्छ । तर, भित्र मालवेयर रहेको हुन्छ । ह्याकरले अन्य व्यक्तिको अकाउन्ट कब्जा गरिसकेपछि त्यस्ता सामग्रीमा बढीभन्दा बढी साथी ट्याग गरेर पोस्ट गर्छ ।

यसरी शेयर गरिएको पोस्टमा ट्याग भएका व्यक्तिहरूसँग साथी भएका सबैले उक्त सामग्री देख्छन् । यदि आफ्नो साथीलाई ट्याग गरिएको यस्तो पोस्टमा भित्र के छ भनी लिङ्क खोल्दा उनीहरूको अकाउन्ट पनि ह्याकरको कब्जामा जान्छ ।

हामीले ह्याकरले फैलाउने एक लिङ्क (तल तस्वीरमा देखाइएको) को परीक्षण गरेको थियौं । उक्त लिंकमा क्लिक गरेपछि अकाउन्टको एक्सेस गुम्यो । त्यसपछि तत्कालै ‘पासवर्ड फर्गेट’ अप्सन प्रयोग गरी पासवर्ड परिवर्तन गरेर उक्त अकाउन्ट फिर्ता ल्याइएको थियो ।

यसरी लिंकमा क्लिक गर्ने बित्तिकै गुमेको अकाउन्ट प्रारम्भिक चरणमा भने फिर्ता ल्याउन सकिने देखियो । तत्काल पासवर्ड रिकभर गर्न नसकेको खण्डमा भने अकाउन्टको एक्सेस सधैंका लागि गुम्न सक्ने जोखिम छ ।

परीक्षण गरिएको सो लिंकमा अत्यधिक रिपोर्ट भएपछि भने हाललाई उक्त लिङ्क डाउन भएको छ । तर, पनि ह्यारकले अन्य थुप्रै यस्ता लिङ्क बनाएर मालवेयर फैलाइरहेका छन् ।

यस्तो घटनाबाट कसरी जोगिने?

सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईंले आफ्नै साथीले पठाएको लिङ्क भए पनि उक्त लिङ्कमा विश्वस्त नभएसम्म क्लिक गर्नु हुँदैन । यदि तपाईंलाई मेसेन्जरमा लिङ्क आएको छ भने फोन गरेर लिङ्कबारे बुझ्नुहोस् ।

अहिलेको यो घटना हेर्ने हो भने फेसबुक ट्याग प्रमुख चुनौतीको रूपमा देखिएको छ । यदि तपाईंले फेसबुक ट्याग स्वतः एसेप्ट हुने फिचर अन गर्नु भएको छ भने तपाईंलाई आफू यस्ता पोस्टमा ट्याग भएको थाहा नहुन सक्छ ।

अकाउन्ट सुरक्षित राख्ने कुरामा ध्यान दिनुहोस्  

तपाईंले प्रयोग गरिरहेको फेसबुक अकाउन्ट तपाईंकै कारण कुनै पनि बेला अरूको कब्जामा जान सक्छ । तपाईंले इनबक्समा आउने मालवेयर लिङ्कमा क्लिक गर्नुभयो अथवा अरुलाई ट्याग गरिएका कुनै लिंकमा क्लिक गर्नु भयो भने तपाईँको अकाउन्टमा ह्याकरले पहुँच पाउँछ ।

कहिलेकाही तपाईंले थाहा नपाएरै यस्तो भएको हुनसक्छ । त्यस्तो अवस्थामा ह्याकरले तपाईँको अकाउन्ट दुरुपयोग गर्ने उपयुक्त समय खोजिरहेको हुन्छ ।

ह्याकरले दुरुपयोग गर्नु अगाडि नै आफ्नो अकाउन्ट रिकभर गर्नु उत्तम हुन्छ । तर सधैं यसरी रिकभर गर्ने अवस्था हुँदैन । त्यसैले पहिले नै आफ्नो अकाउन्टको सुरक्षित राख्ने उपाय अपनाउनु बुद्धिमानी हुन्छ ।

यसको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा आफ्नो फेसबुकको पासवर्ड बारम्बार परिवर्तन गर्ने बानी बसाल्नु होस् । बेला बेलामा आफ्नो अकाउन्टमा रिकभरी ईमेल वा फोन नम्बर कसको छ भन्ने कुरा पनि चेक गर्नुहोस् ।

कहिलेकाहीं तपाईंको अकाउन्ट अन्य कसैले आफ्नो पहुँचमा लिएर त्यसमा अर्कै फोन नम्बर र ईमेल राखेको हुनसक्छ ।

यसरी माथि उल्लेख गरिएका सुरक्षाका तरिका अपनाउनु भयो भने तपाईं सामाजिक सञ्जाल फेसबुकमा सुरक्षित रहन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *