जन्मदिनमा पौडेलले दिए बालबालिकालाई मुना

गैंडाकोट, २२ साउन ।
सञ्चारकर्मी राजेन्द्र पौडेलले विद्यार्थीहरूसँग जन्मदिन मनाएका छन् । विजय एफएम गैंडाकोटमा कार्यरत पौडेलले सोमबार परेको जन्मदिनका अवसरमा गैंडाकोट नगरपालिका-७ स्थित श्री नारायणी माविका विद्यार्थीसँग भेटघाट गरेर जन्मदिन मनाएका हुन् । भेटघाटका क्रममा पौडेलले विद्यार्थीहरूलाई पढाइको महत्त्व बताउँदै अतिरिक्त पुस्तक पढ्ने बानीको विकास गर्नसके विद्यार्थीमा आत्मविश्वास बढ्ने बताए । पौडेलले विद्यालयमा कक्षा १० सम्म अध्ययनरत २०० बढी विद्यार्थीलाई मुना बालपत्रिका, युवामञ्च र शिक्षक मासिक उपलब्ध गराएका थिए ।

कक्षा कोठामै पुगेर विद्यार्थीका हातमा बालपत्रिका राखिदिँदै पौडेलले भने -`यी पुस्तकले तपाईंको पढाइमा सहयोग गर्न सक्छन्, नियमितरूपमा पढ्ने बानी बसाल्नु होला । तपाईंहरूले पनि केही लेख्न सिक्नुहोला ।´

विद्यालयका प्रधानाध्यापक लालचन्द्र सुवेदीले पौडेललाई टीका र खादा लगाएर विद्यालयको तर्फबाट सम्मान गरेका थिए । `जन्मदिनका अवसरमा विद्यार्थीहरूलाई सम्झेर आफ्नो विद्यालयमा आइ ज्ञान बाँड्ने काम गर्नुभएकोमा विद्यालयको तर्फबाट आभार प्रकट गर्दछौँ´, प्रधानाध्यापक सुवेदीले भने । विद्यालयका शिक्षक गोविन्द रिमालले जन्मदिनका अवसरमा फजुल खर्च गर्नुको सट्टामा विद्यार्थीलाई पुस्तक, पत्रपत्रिका उपलब्ध गराइनु प्रसंशनीय भएको बताए । पठन संस्कृतिका अभियन्ता एवम् सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले विद्यार्थीलाई अतिरिक्त किताब र पत्रपत्रिका पढाउने बानी बसाल्न सके सिकाइमा सहजीकरण हुने बताए । अतिरिक्त पुस्तक पढ्ने र समसामयिक गतिविधिमा चासो राख्ने विद्यार्थी अरुभन्दा अब्बल हुनेगरेको पनि सापकोटाले बताए ।

जन्मदिन विशेष कार्यक्रममा कवि भानु सापकोटाले कवितामार्फत शिक्षक तथा विद्यार्थीलाई सम्बोधन गर्दै पौडेलको नाममा समर्पित कविता वाचन गरेका थिए । कार्यक्रममा सामाजिक व्यक्तित्व तेजेन्द्र राना, शिक्षक जगन्नाथ उपाध्याय, मुक्ति तिवारी, अनिल कँडेल, काशीनाथ पोखरेललगायत सहभागी थिए ।

गैंडाकोट-७ निवासी सञ्चारकर्मी पौडेल लायन्स क्लब अफ चितवन वाङ्मय, सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सिर्जन साहित्य प्रतिष्ठान, मिलिजुली बाल उद्यानलगायतका संस्थामा पनि आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *