दयाराम आचार्य
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका ३४ वटा वडा विपदका दृष्टिले अति उच्च जोखिममा रहेका छन् । जिल्लाका ३४ वडा मौसमजन्य विपद बाढीको जोखिमका हिसाबले अति उच्च संकटासन्न अवस्थामा रहेका हुन् । जिल्ला भित्र रहेका ८ वटा पालिकाका ९२ वटा वडा मध्य ३४ वटा वडा बाढीको जोखिमका हिसाबले अति उच्च संकटासन्न अवस्थामा रहेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले हालै तयार पारको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० मा जिल्लाका ३४ वटा वडालाई बाढीको जोखिमका हिसाबले अति उच्च संकटासन्न वडाका रुपमा राखेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो । पहिरोका दृष्टिले जिल्लाका ६ वटा वडालाई अति उच्च संकटासन्न वडाका रुपमा राखिएको छ ।
हुप्सेकोट गाउँपालिका भित्रका चारवटा वडाहरू १,२,३र४, मध्यविन्दु नगरपालिका भित्रका चारवटा वडाहरू १,२,३र४, देवचुली नगरपालिका भित्रका ९ वटा वडाहरू १,२,३ ,५,६,१३,१५,१६ र १७, कावासोती नगरपालिका भित्रका ७ वटा वडाहरू १,३,४,५,६ १५ र १७, विनयी त्रिवेणी भित्रका चारवटा वडाहरू १,२,४ र ७, बुलिङटारको वडा नम्बर २, बौदीकालीको चारवटा वडाहरू ३,४,५ ,६ र गैंडाकोट नगरपालिकाको वडा नम्बर २ बाढीको दृष्टिकोणले अति उच्च संकटासन्न अवस्थामा रहेका छन् ।
पहिरोको जोखिमका रुपमा हुप्सकोट १ र २, मध्यविन्दु १३ र १४ , विनयी त्रिवेणी १ र ६ तथा बुलिङटार वडा नम्बर ३ गरि ७ वटा वडा अति उच्च संकटासन्न वडाका रुपमा रहेका छन् ।
बाढीको जोखिमका हिसाबले १६ वटा वडा उच्च संकटासन्न र पहिरोको जोखिमका हिसाबले ८ वटा वडा उच्च संकटासन्न अवस्थामा रहेका छन् ।
मनसुन जन्य जोखिमको अवस्था मूल्याङ्कन गरि जिल्लामा जिल्ला तह ,स्थानीय तह र यहाँका संघसंस्था मार्फत परिचालन हुने स्रोत साधनको आँकलन र मनसुन आपतकालीन कार्ययोजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।
विपद् पूर्वको तयारी, विपद्को समय र विपद् पश्चात राहत, पर्नस्थापन र व्यवस्थापनका योजना निर्माण गरिएको र सोही अनुसार कार्य गरिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।
नदीजन्य कटान र डुबानका कारण बस्ती जोखिममा पर्ने अवस्था आए स्थानीय तह हरुलाई मेसिनरी सामाग्री प्रयोगका लागि अनुमति प्रदान गरिएको उहाँले बताउनुभयो । ‘हामीले हाल नदीजन्य कटान र डुबानलाई प्राथमिकता दिएका छौ, यसका कारण बस्ती जोखिममा छ भने स्थानीय तहले खोला च्यानालाईज गर्न अनुमति लिई राख्न पर्दैन , हामीलाई जानकारी मात्र गराए हुन्छ भनेका छौं’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो । यसै अनुसार कतिपय ठाउँमा कामहरू भइरहेको उहाँले बताउनुभयो ।
स्थानीय तहसँगै अन्य सम्बन्धित कार्यालयलाई कतै डुबान कटान भए फिल्ड अध्ययन गरि गर्न सकिने काम गर्न निर्देशन गरिएको उहाँको भनाई रहेको छ । मनसुन जन्य विपदका घटना केही भइहाले खोज उद्धारका लागि जिल्ला स्थित सबै सुरक्षा निकाय तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।