नवलपुरमा स्वास्थ्य कार्यक्रमहरुको स्थानीय तहहरूकाे मुल्यांकन  नतिजामा बुलिङटार प्रथम

बुलिङटार, १८ असोज। स्वास्थ्य कार्यक्रमहरूको स्थानीय तहहरूको मुल्यांकन नतिजामा बुलिङटार गाउँपालिका स्वास्थ्य शाखा नवलपुर जिल्लामा प्रथम स्थान हासिल गरिएको छ । नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिकामा रहेको बुलिङटार गाउँपालिका स्वास्थ्य शाखा आर्थिक बर्ष २०७९/८० को स्वास्थ्य कार्यक्रमहरूको स्थानीय तहहरूको मुल्यांकन नतिजामा जिल्लाकै प्रथम स्थान हासिल गरिएको बुलिङटार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले बताउनु भयो ।

खोप कार्यक्रम, परिवार नियोजन कार्यक्रम, सुरक्षित मातृत्व लगायत विभिन्न ३१ वटा सूचकहरुमा अब्बल ठहरिदै बुलिङटार गाउँपालिका स्वास्थ्यको क्षेत्रमा नवलपुरकै उत्कृष्ट गाउँपालिकाको रुपमा देखिएको छ ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आव २०७९/८० को बार्षिक समिक्षा कार्यक्रममा बुलिङटार गाउँपालिका प्रदेशको छैटौं स्थानमा देखिएको हो । गण्डकी प्रदेशकाे ८५ वटा स्थानीय तहहरू मध्य बुलिङटार गाउँपालिका छैटौं स्थानमा ल्याउन सहयोग गरेको भन्दै बुलिङटार गाउँपालिका अन्तर्गतका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चाैकी , सामुदायिक स्वास्थ्य  ईकाइमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई र महिला स्वयंसेवीकाहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । यसैगरी स्वास्थ्य दर्पण मिडिया नेटवर्कले  पनि  समय समयमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि आफूहरूलाई सहयोग गरेको स्मरण गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाइले भुगोलका हिसावले दुर्गम स्थानमा रहेको भएपनि बुलिङटार गाउँपालिका जिल्ला प्रथम हुनु खुसीको कुरा भएको बताउनु भयो ।

यसैगरी बुलिङटार गाउँपालिकाको स्वास्थ शाखाको नतिजा देख्दा अत्यन्तै खुशी भएको र आफू नतिजा प्रति सन्तुष्टि  भएको पालिकाका अध्यक्ष इन्जिनियर दिपेन्द्र सुनारी मगरले बताउनुभयो । स्वास्थ जस्तो संवेदनशील क्षेत्रमा आफू जनप्रतिनिधिको हैसियतबाट गर्न सकिने कुनै पनि कुराहरुको कमि हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ।

यसअघि यश पालिका आर्थिक वर्ष २०७८/७९ मा पनि जिल्लाकै पहिलो र प्रदेशको एघारौं स्थानमा रहन सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *