बुलिङटारमा घुम्ती शिविर सञ्चालन; अब वडाबाटै योजना सम्झौता हुने

सोमबार, बुलिङटार। नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिकामा घुम्ति शिविर सेवा सञ्चालन भएको छ । बुलिङटार गाउँपालिकाबाट प्रदान गरिने विभिन्न सेवा प्रवाह सम्बन्धी घुम्ती शिविर सेवा सञ्चालन गरिएको बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुषालले जानकारी दिनुभयो । घुम्ती सेवा मार्फत विभिन्न वडामा विभिन्न सेवा प्रवाह हुने र वडाबाटे विभिन्न भौतिक योजनाहरु सम्झौता हुने अधिकृत भुषालले जानकारी दिनुभयो । भुषालका अनुसार एउटै पालिका भए पनि भौगोलिक अनुसार केही वडाहरु टाढा रहेको र उहाँहरु सम्झौता गर्न आउदा आवश्यक कागजातहरु छुट्दा उहाँहरुले दुख पाउने गरेको हुदा यस्ता समस्यलाई हटाउने उदेश्यले यस कार्यक्रम गरिएको बताउनुभयो । जनताको घरदैलोबाट सेवा प्रवाह गर्ने उदेश्यले यस किसिमको सामाजिक सेवा प्रवाह गरिएको अधिकृत भुषालले जानकारी दिनुभयो । यस कार्यक्रम भित्र निशुल्क स्वास्थ्य परिक्षण तथा आवश्यक औषधी वितरण गरिने उहाले बताउनुभयो ।

यस्तै पालिकाको टिममा आवश्यक कर्मचारीहरु वडामै गएर विभिन्न भौतिक योजनाहरु सम्झौता हुने भएको छ । घुम्ती शिविर सेवा कार्यक्रमको दिन सम्बन्धित वडा भित्रका स्वास्थ्य इकाइमा अनुगमन, विद्यालयहरुमा अनुगमन हुने छ ।

यस्तै शुक्रबार बुलिङटार ६ मा घुम्ती शिविर सेवा सम्पन्न भएको छ । बुलिङटार गाउँपालिकाका योजना शाखा प्रमुख सिताराम खनालका अनुसार शुक्रबार जम्मा पाँच ओटा मात्रै योजनाहरु सम्झौता भएको छ । सबै योजनाहरुको सम्झौता एकैदिन सक्काउन भनेर आफूहरु गएको भएपनि सेवाग्राहीहरु न आएर ५ वटा मात्रै सम्झौता भएको खनालले जनाउनु भयो ।

यस्तै निशुल्क स्वास्थ्य परिक्षण पनि सोहि दिनमै वडा न ६ मा भएको थियो। बुलिङटार स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठका अनुसार शुक्रबार करिब ५० जनाले निशुल्क स्वास्थ्य परिक्षणमा लाभ लिइएको थियो । ६ नं वडा भित्रका २ वटा सामुदायिक स्वास्थ्य इकाइमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुषालको नेतृत्वमा अनुगमन गरिएको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । यस्तै सोही दिनमा सामुदायिक विद्यालयहरुमा पनि अनुगमन गरिएको शिक्षा शाखा प्रमुख बुद्ध प्रसाद रानाभाटले बताउनुभयो ।

घुम्ती सेवा संचालन गरी सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राहीहरु समक्ष पुर्याउने उद्देश्य अनुसार बुलिङटार गाउँपालिका वडा नं ६ को वडा कार्यालयबाट नै सम्पूर्ण गाउँपालिकाबाट प्रदान गरिने सेवाहरु प्रदान गरिएको अधिकृत  भुषालले जानकारी दिनुभएको हो । कार्यक्रमबाट आ व २०८०।०८१मा गाउँपालिकाबाट संचालित योजनाहरु सम्झौता, स्वास्थ्य चेकजाँच, विद्युतिय हाजिरि संचालन, योजना फिल्ड अनुगमन, विद्यालय अनुगमन, कृषि सम्बन्धी समस्याहरुको फिल्ड अनुगमन र चेकजाँच, प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरु सम्झौता, लगायतका सम्पूर्ण सेवाहरु प्रदान गरिएको थियो । कार्यक्रममा बुलिङटार गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष मोहन राज पाठक, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुषाल, योजना शाखा प्रमुख सिताराम खनाल, शिक्षा शाखा प्रमुख बुद्ध प्रसाद रानाभाट, स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठ, सूचना प्रविधि अधिकृत सागर भट्टराई, रोजगार संयोजक विपिन रानाभाट, कृषि अधिकृत हिमाय पौडेल, प्राविधिक शाखा प्रमुख रमेश सापकोटा, जिन्सी शाखा प्रमुख दिनेश रानाभाट, वडा सचिव विजय थापा लगायत अन्य गाउँपालिका तथा वडा कार्यालयका कर्मचारीहरु एवं जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  यसैगरी अन्य वडा कार्यालयहरुबाट समेत छिट्टै सेवा प्रदान गरिने बुलिङटार गाउँपालिकाका सुचना प्रविधि  अधिकृत सागर भट्टराईले जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *