काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत सोमबार९आज० उम्मेदवारी दर्ता हुनेछ ।
संघीय संसद् सचिवालयले फागुन २९ गते ९भोलि०का लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।
मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ ।
सत्ता समीकरण फेरिएसँगै राष्ट्रिय सभा अध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आमनेसामने हुने भएका छन् । नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । उता नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठुलो पार्टी छ । उसका उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठुलो दल हो । एमालेबाट १० जना सांसद राष्ट्रिय सभामा छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् ।
