तुल बहादुर राना मगर,
शनिबार ९ असार, बुलिङटार । नवलपुरको पहाडी गाउँपालिका बुलिङटार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । पालिकाले आगमी वर्षका लागि कृषिलाई विशेष जोड दिदै “एक गाउँ, एक उत्पादन” कार्यक्रम सञ्चालन गरिने नीति ल्याइएको छ । शुक्रबार बुलिङटार गाउँपालिकाका गाउँसभाको तेह्रौ अधिवेशन तथा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष ईन्जिनियर दिपेन्द्र सुनारी मगरले कृषि पकेट तथा जोन कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने बताउनुभयो । कृषि उत्पादकत्व बृद्धि गर्न एक गाउँ, एक उत्पादन कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।
सुखी र आत्मनिर्भर बुलिङटार बनाउनको लागि उत्पादन गरेको बस्तु स्थानिय बजारमा खपत गर्न पहल गरिने अध्यक्ष सुनारी मगरले बताउनु भयो । कृषिमा यान्त्रिकरण गर्दै निर्वाहमुखी कृषिबाट व्यवसायिक कृषि गर्न प्रोत्साहन गर्नका लागि “सिचाई अघि, पछि कृषि” कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । गाउँपालिकाको पहाडी क्षेत्रमा सुन्तला तथा कागती खेतीको पकेट तथा जोन क्षेत्र घोषणा गरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्नका लागि संघ र प्रदेशसंग समन्वय गरिने बताउनुभयो । बुलिङटारमा कृषि उपज तथा संकलन केन्द्र निर्माण तथा व्यवस्थापन गर्दै संयोजन कार्यलाई अगाडी बढाउने उहाँले बताउनु भयो ।
खाद्यन्न बाली बीउमा आत्मनिर्भर गाउँ कार्यक्रम सञ्चालन गर्नका लागि बीउ बिजन उत्पादन प्रशोधन तथा भण्डारण गर्ने कृषक, कृषि समूह तथा सहकारीलाई विशेष अनुदानको व्यवस्था गर्दै बजारको सुनिश्चितता गरिने अध्यक्ष सुनारी मगरले बताउनु भयो । तरकारी तथा फलफुल पकेट क्षेत्रमा उत्पादनको बजारीकरणको लागि कृषक कहाँबाट संकलन केन्द्रसम्म पुर्याउने उदेश्यका साथ कृषि एम्बुलेन्स सञ्चालन गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले कृषि फर्म दर्तालाई सर्वसुलभ बनाउने र माटो सुहाउँदो नगदे बाली लगाउने साथै उच्च भुभागमा फलफुल खेती गर्ने कार्यक्रम प्रोत्साहन गर्ने, करेसाबारी निर्माणको लागि आवश्यक बिउ बिजन गाउँपालिकाले निशुल्क उपलब्ध गराउने, स्थानीय जातका रैथाने बालिहरुको पकेट क्षेत्र स्थापना गरि खाद्य सुरक्षामा थप टेवा पुर्याउने तथा गरिबी निवारणको अस्त्रका रुपमा प्रयोग गर्ने नीति अपनाइने प्रस्तुत गर्नुभएको थियो ।