पहाडी सडकमा मनपरी, भाडादर १ सय ३२ भए पनि असुलिन्छ ३ सय

नारायण शर्मा
पूर्वी नवलपरासी — पहाडी क्षेत्रका सडकमा सञ्चालित सवारीसाधनले यात्रुबाट तोकिएभन्दा झण्डै तीन गुणा बढी भाडा असुल्दै आएका छन् । भाडादर असुली नियन्त्रण र अनुगमन गर्ने जिल्ला प्रशासनले चासो नदेखाउँदा यातायात व्यवसायीले वर्षौंदेखि आफुखुसी भाडा उठाउँदै आएका छन् ।

‘चार दिन भयो राजमार्गका ठाउँठाउँमा पहिरो झरेर यतिखेर मुख्य राजमार्ग बन्द छ । यहाँ करिब २२ किलोमिटर दूरीको भाडा ३ सय लिने गरिएको छ,’ डेढगाउँका अगुवा होमनाथ भटराई भन्छन् ।

यस्तै, डेढगाउँबाट पाल्पाको रामपुरसम्म २२ किलोमिटर दूरीको भाडा ३ सय असुल्ने गरेको बताए । पक्की सडकमा प्रतिकिलोमिटर ६ रुपैयाँ भाडादर कायम गरिए पनि अनुगमन गर्ने यातायात र ट्राफिक प्रहरीले चासो नदिँदा मनपरी भाडा असुली हुँदै आएको स्थानीयको भनाइ छ ।

यातायात व्यवसायीले आफुखुसी भाडा असुल्ने गरेको र नियमनकारी निकायहरू रमिते भएको स्थानीयहरूको गुनासो छ । पैसा तिरेपछि टिकट माग्दा टिकट पनि नदिने गरेको स्थानीयहरू बताउँछन् ।

‘जिप र बसले छतभरी यात्रु राखेर जोखिमपूर्ण बाटोमा हिँडाउने गरेका छन् । राजमार्गमा प्रहरी गस्ती नहुँदा छतभरी यात्रु बोक्ने कामले बढावा पाइरहेको छ । बढी भाडा लिएको बारेमा सरोकार राख्ने प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराउँदा कुनै सुनुवाइ भएन । मैले पूर्वी नवलपरासी र पाल्पा जिल्ला प्रशासन कार्यालयमा भाडा अनियमितताका बारेमा लिखित उजुरी दिएको पनि धेरै भैसक्यो । तर सुनुवाइ भएन,’ भट्टराई भन्छन् ।

स्थानीयहरूले पनि बारम्बार भाडा घटाउन आग्रह गर्दा यातायात व्यवसायीहरूले अटेरी गर्दै आएको उनी बताउँछन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख गणेश पौडेलले भने उचित भाडादर कायम गराउन र एकरुपता ल्याउने काम भइरहेको बताए । पक्की सडकमा प्रतिकिलोमिटर ६ रुपैयाँ र कच्ची सडकमा १० रुपैयाँ कायम भएको पौडेलको दाबी छ ।

‘बुधबार बैठक बसेर टुंग्याउने छौं । यसअघि असुलेको भाडा फिर्ता गर्न सकिन्नँ । अबका दिनमा मूल्य समायोजन गरी लागू गराउँछौं । अनुमति पाएका सडकको भाडादर तोकिन्छ । अन्य कच्ची सडकमा स्थानीय आवश्यकता अनुसार भाडादर कायम हुनेछ,’ उनले भने ।

पूर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछाने पहाडी सबैजसो सडकमा मनपरी भाडा असुल्ने गरिएको बारेमा आफू जानकार रहेको बताउँछन् । ‘गुनासो आएपछि मेरै पहलामा भाडा घटाउनका लागि उपसमिति बनाएर काम भइरहेको छ,’ लामिछानेले भने, ‘यसअघिका प्रमुख जिल्ला अधिकारी पनि सरुवा हुनुभयो, यातायात कार्यालयका प्रमुख पनि बिरामी हुनुभयो । अब चाँडो कार्यान्वयन गर्छौं । मुख्य राजमार्ग र सहायक राजमार्गको छुटाछुटै भाडादर कायम हुन्छ ।’

उपसमितिमा ट्राफिक, जिल्ला प्रशासन र यातायात कार्यालयका प्रतिनिधिले काम गरिरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *